उपाधि दौडमा मनाङलाई टक्कर द्रिदै संकटा

काठमाडौं (खेलदैनिक) । सिजनको शुरुवातदेखि नै उत्कृष्ट लयमा देखिएको सिएमजी संकटा क्लबले शहिद स्मारक ए डिभिजन लिगतर्फ लिगलिडर मनाङ मस्र्याङ्दी क्लबलाई टक्कर दिईरहेको छ ।

लिगतर्फ नवौं चरणसम्म आइपुग्दा एक खेलमा मात्र हार बेहोरेको संकटाले सोमबार फ्रेण्डस क्लबलाई ३–१ ले हरायो । सशस्त्र प्रहरीको एफिएफ स्टेडियममा सम्पन्न खेलको २४ औं मिनटमा म्याक्सवेलको गोलबाट संकटाले शुरुवाती अग्रता लिएको थियो ।

तर ४६ औं मिनटमा प्रेजन तामाङले फ्रेण्डसका लागि गोल फर्काए । त्यसपछि थप आक्रमक बनेको संकटाका लागि ५४ औं मिनटमा अर्नेष्ट टम्पाले दोस्रो गोल गरे भने लगतै ५७ औं मिनटमा दिपेश आले मगरले तेस्रो गोल गरे ।

यो जितसँगै ९ खेलबाट २७ अंक जोडेको संकटा दोस्रो स्थानमा छ उपाधि दौडमा मनाङसँगै आफूलाई पनि कायम राखेको छ । उता समान अंक भए तापनि मनाङ हेड टु हेडका आधारमा शिर्ष स्थानमा छ । त्यस्तै पराजित फ्रेण्डस भने ५ अंकका साथ पुछारबाट चौथो स्थानमा छ ।

सरस्वती र जावलाखेलको बराबरी

त्यसैगरी सोमबार नै एन्फा कम्प्लेक्समा सम्पन्न अर्को खेलमा सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि १० अंक जोडेको सरस्वती नवौं स्थानमा छ भने ८ अंक जोडेको जावलाखेल दशौं स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...