बूढानीलकण्ठलाई सेभेन ए साइड फुटबलको उपाधि

साइपाल कप अन्तरविद्यालय फुटबल उपाधि विजेता बूढानीलकण्ठ टोली ।

काठमाडौं (खेलदैनिक) । बूढानीलकण्ठले प्रथम साइपाल कप सेभेन ए साइड छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

कपनको आकाशेधारामा भएको फाइनलमा बूढानीलकण्ठले आयोजक साइपाल एकेडेमीलाई १–० गोलले पराजित गर्यो । हेमन्त गुरुङले निर्णायक गोल गरे । हेमन्त उत्कृष्ट खेलाडी पनि घोषित भए । विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाए ।

साइपालका अमिर लामा उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर ७ गोल गरेका साइपालकै सुजन लामा सर्वाधिक गोलकर्ता बने । दिब्य दर्शनले अनुशासित टिमको उपाधि हात पार्यो ।

विजेतालाई तरुण दलका केन्द्रीय सभापति जितजंग बस्नेत, काठमाडौं जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष दामोदर भट्टराई र साइपालका प्रिन्सिपल सुमन नगरकोटीले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । मंसिर २३ देखि सुरु प्रतियोगितामा ३० टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...