आठौँ सिमरा गोल्डकपको उपाधि संकटालाई, आर्मी टाइब्रेकरमा ४–२ गोलले पराजित, विनय श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी

माघ २९ – बाराको सिमरामा सञ्चालित आठौँ सिमरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । नेपाल आर्मीलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै संकटाले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि टाइब्रकेरबाट निर्णय लिइएको हो । खेलमा अग्रता लिएर पनि आर्मीले जोगाउन सकेन । ४७ औं मिनेटमा आर्मीले अग्रता लिएको थियो । आर्मीका बालकृष्ण श्रेष्ठले अग्रता दिलाएका हुन् ।  ५६ औं मिनेटमा अमित तामाङले बराबरी फर्काएका थिए ।

विजेता संकटा क्लबले पाँच लाख ५१ हजार र उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । संकटाका गोलकिपर विनय श्रेष्ठ प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्दै मोटरसाईकल प्राप्त गरे । विनय उत्कृष्ट गोल रक्षक, आर्मीका विमल पाण्डे उत्कृष्ट डिफेण्डर, आर्मीकै सन्तोष तामाङ उत्कृष्ट मिडफिल्डर, संकटाका अनिल गुरुङ उत्कृष्ट स्ट्राईकर, प्रतियोगितामा २ गोल गरेका आर्मीका बालकृष्ण श्रेष्ठ हाई स्कोरर र संकटाका प्रशिक्षक सल्यान खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । सबैले १५ हजार नगद प्राप्त गरे ।

जारी रुस्लान सिमरा गोल्डकपमा आर्मीले हिमालयन शेर्पा र संकटाले साविक बिजेता बिजय युथ क्लबलाई २–१ ले हराउँदै एकअर्काको भेट पक्का गरेका थिए । यो सिजन संकटा र आर्मीको यो चौथो भेट हो । यसअघि खेलेको तीन खेलमध्ये आर्मीले एक र संकटाले दुई खेल जितेको छ ।यसअघि पाँच प्रतियोगिताको फाइलन पुगेको आर्मीले नेपाल कप, सुमन भोम्जन स्मृति कप र दुबही गोल्डकप जितेको थियो । संकटाले यसअघि नारायणघाटमा आर्मीविरुद्ध विकास सिल्ड जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...