रजिनले गोल स्कोरिङ लय कायम राख्दा थ्रीस्टार दोस्रो स्थानमा उक्लियो

काठमाडौं (खेलदैनिक) । स्टार डिफेन्डर रजिन धिमालले यस सिजन आफ्नो उत्कृष्ट गोल स्कोरिङ लयलाई निरन्तरता दिंदा शहिद स्मारक ए डिभिजन लिगमा रुस्लान थ्रीस्टार क्लबले मच्छिन्द्र एफसीलाई १–० ले हराएको छ ।

शनिबार एपिएफ स्टेडियममा सम्पन्न खेलको शुरुवात तिर ११ औं मिनटमा रजिनले पेनाल्टीबाट एक मात्र निर्णायक गोल गरे । जारी लिगमा रजिनको यो छैठौं गोल हो । साथै यो गोलसँगै लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा उनी शिर्ष स्थानमा छन् ।

यो जितसँगै ८ खेलबाट २१ अंक जोडेको थ्रीस्टार दोस्रो स्थानमा छ र शिर्ष स्थानमा रहेको मनाङ भन्दा ३ अंकले पछाडी छ । उता यस सिजन जितविहीन रहेको मच्छिन्द्र भने अंकविहीन रुपमा पुछारमा छ ।

च्यासलको चौथो जित

त्यसैगरी एपिएफ स्टेडियम मै शनिबार भएको पहिलो खेलमा च्यासल युथ क्लबले ब्रीगेड ब्वाईज क्लब (बीबीसी) लाई २–० ले हरायो । च्यासलको जितमा सन्त बहादुर गुरुङ र सन्जोग राईले गोल गरे ।

जारी लिगमा च्यासलको यो चौथो जित थियो । यो जितसँगै ८ खेलबाट १२ अंक जोडेको च्यासल छैठौं स्थानमा छ । उता पराजित बीबीसी भने ३ अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...