दुई मिनटमा दुई गोल गर्दै दोस्रो स्थानमा उक्लियो संकटा


काठमाडौं (खेलदैनिक) । दुई मिनटको अन्तरलातमा दुई गोल गरेपछि संकटा क्लबले ए डिभिजन लिगतर्फ बिहीबार हिमालयन शेर्पा क्लबलाई २–० ले हराएको छ ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाका लागि १२ औं मिनटमा सेडरिक आवाले पहिलो गोल गरे भने लगतै १४ औं मिनटमा दिपेश आले मगरले दोस्रो गोल गरे । जुन नतिजा संकटाका लागि प्रर्याप्त बन्यो ।

यो जितसँगै ८ खेलबाट २१ अंक जोडेको संकटा दोस्रो स्थानमा समेत उक्लिएको छ । उता तेस्रो हार बेहोरेको शेर्पा भने ११ अंकका साथ छैठौं स्थानमा छ ।

जावलाखेलको दोस्रो जित

त्यस्तै बिहीबार नै एपिएफ स्टेडियममा सम्पन्न अर्को खेलमा जावलाखेल युथ क्लबले जारी लिगमा दोस्रो जित हात पारेको छ । जित निकाल्ने क्रममा जावलाखेलले घरेलु टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० ले हरायो ।

जावलाखेलको जितमा लावलले खेलको ४८ औं मिनटमा गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । यो जितपछि ८ खेलबाट ६ अंक जोडेको जावलाखेल दशौं स्थानमा छ । उता पराजित एपिएफ भने ९ अंकका साथ आठौं स्थानमा छ ।




प्रतिक्रिया दिनुहोस

Loading...