बिर्तामोडमा इण्डो–नेपाल भेट्रान फुटबल हुने

बिर्तामोड (खेलदैनिक) । दिवंगत गोठवीर राईको स्मृतिमा पुष २ गतेदेखि दोस्रो बिर्तामोड भेट्रान इण्डो–नेपाल फुटबल प्रतियोगिता बिर्तामोडमा हुने भएको छ ।

प्रतियोगितामा आयोजकसँगै सीएमजी स्वास्थ्य क्लब विराटनगर, एभरेष्ट भेट्रान एफसी मोरङ, दमक लखनपुर भेट्रान एफसी दमक, पूर्वाञ्चल भेट्रान एफसी कमल, धरमपुर भेट्रान एफसी, काँकरभिट्टा भेट्रान एफसी, चारआली धाइजन भेट्रान एफसी, राजघाट भेट्रान एफसी मोरङ र कालिम्पोङ भेट्रान एफसी कालिम्पोङ भारतको सहभागिता रहेको आयोजकले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी गरायो ।

सर्वाधिक पुरस्कार राशि दाबी गरिएको उक्त प्रतियोगिता डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार रुपैयाँ र उपविजेताले ८१ हजार रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष किरणकुमार थापाले जानकारी दिए ।

प्रतियोगितामा सहभागी खेलाडीको उमेर ३५ वर्षका दुई जना, ३८ वर्षका चार जना र बाँकी खेलाडी ४० वर्ष पुगेको हुनुपर्ने मापदण्ड तोकिएको क्लबका उपाध्यक्ष प्रकाश लिङदेनले बताए । उक्त प्रतियोगिता सम्पन्न गर्न अनुमानित १० लाख चार हजार रुपैयाँ लाग्ने कोषाध्यक्ष झलकसिंह राजवंशीले जानकारी दिए ।

क्लबका सचिव केशवराज दाहालका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडी नगद पाँच हजार पाउनेछ भने उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्डर, स्ट्राइकर र सर्वाधिक गोलकर्ताले जनही दुई हजार पाँच सय रुपैयाँ पाउनेछन् ।

त्यस्तै प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद दुई हजार एक सय पाउने उनले बताए । पुस ७ गते फाइनल हुने प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन स्व.गोठवीर राईका पनाति हाल अमेरीकामा रहेका पूर्व फुटबल खेलाडी अमृत राईले गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस

Loading...