फराकिलो जितका साथ न्यु श्रृजनालाई सन्जिवनी कपको उपाधि

तिलोत्तमा (खेलदैनिक) । भारी अन्तरले जित हात पार्दै न्यु श्रृजना एफसी, करौजियाले दोस्रो सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

तिलोत्तमा १४, बाघधुरा देवीनगरस्थित स्थानीय खेलमैदानमा आइतबार सम्पन्न फाइनल खेलमा न्यु श्रृजनाले सुपौली एफसीलाई ८–० को फराकिलो अन्तरले हरायो । न्यु श्रृजनाको जितमा किरन थापा र विवेक पुनले ह्याट्रिक गरे । त्यस्तै विपिन भण्डारीले एक गोल गरे भने थप एक गोल सुपौलीका शिव चौधरीले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच सुपौलीका खेम पुन घोषित भए । त्यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता न्यु श्रृजनाका किरन थापा घोषित भए भने उत्कृष्ट गोलरक्षकको पुरस्कार पनि न्यु श्रृजनाका सबिन रोका मगरले जिते ।

बिजेता बनेको न्यु श्रृजनाले उपाधिसहित नगद ५० हजार हात पारेको छ भने उपविजेता सुपौलीले २५ हजारमा चित्त बुझाएको छ ।

सन्जिवनी युवा क्लब, तिलोत्तमा १४, बाघधुरा, देवीनगरको आयोजनामा मंसिर ८ गतेदेखि शुरु भएको प्रतियोगितामा रुपन्देहीका कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

समापन कार्यक्रममा बोल्दै आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले प्रतियोगिता सफलताका सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए । साथै आगामी दिनहरुमा पनि प्रतियोगितालाई निरन्तरता दिन सबै पक्षबाट सहयोग र समर्थनको अपेक्षा समेत गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...