राष्ट्रिय भेट्रान्स फुटबल शुरु, एबिसी पोखराको बिजयी शुरुवात

हेटौडा (खेलदैनिक) । हेटौँडा भेट्रान्सको आयोजना र हेटौंडा वडा नम्बर ६ को सहआयोजनामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ ।

बुधबार भएको उद्घाटन खेलमा एविसी पोखराले सिएफटी चौघडालाई २–० गोलअन्तरले पराजित गर्दै विजयी शुरुवात गर्यो । खेलको म्यान अफ दि म्याच एविसीका मानकाजी गुरुङ घोषित भएका छन् ।

त्यस्तै, सिमरा भेट्रान्स र वीरगंज भेट्रान्स बीच भएको दोश्रो खेलमा वीरगंज भेट्रान्स विजयी भएको छ । वीरगञ्जको जितमा खेलको ३८ औँ मिनेटमा ललित थापाले गरेको गोल नै खेलको निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच पनि वीरगञ्ज भेट्रान्सकै रितु शाक्य घोषित भए ।

त्यसैगरी बुधबार नै भएको तेश्रो खेलमा बुटवल भेट्रान्स विजयी भएको छ । बुटवल भेट्रान्स र पश्चिम चितवन बीच भएको तेश्रो खेल निर्धारित समयमा गोलरहित टुंगिएपछि टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा बुटवलले पश्चिम चितवनलाई २–० गोलअन्तरले हरायो ।

यसअघि प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले गरेका थिए । कार्यक्रममा बोल्दै मेयर महतले खेलकुदका गतिविधिमा उपमहानगर सहयोग र समन्वयको लागि तयार रहेको बताए ।

देशभरका कुल १४ टिमहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...