ए डिभिजन लिग : अन्जन निर्णायक बन्दा मनाङको अपराजित यात्रा जारी

काठमाडौं (खेलदैनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगमा अपराजित रहेको दावेदार मनाङ मस्र्याङ्दी क्लबले आफ्नो शतप्रतिशत जितको यात्रालाई बुधबार पनि निरन्तरता दिएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा लगातार छैठौं जित हात पार्ने क्रममा मनाङले जावलाखेल युथ क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए तापनि दोस्रो हाफमा मनाङले गोलको खाता खोल्न सफल भयो ।

दोस्रो हाफतर्फ जावलाखेलका खेलाडीले आफिज ओलावालेलाई बक्सभित्र फल गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो । जसलाई खेलको ६० औं मिनटमा अन्जन बिष्टले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए । उता खेलमा जावलाखेलले पनि पाएको केही राम्रो अवसरहरुलाई सदुपयोग गनृ नसक्दा चुकचुकाउनुपर्यो ।

जारी लिगमा बिष्टको यो छैठौं गोल समेत हो र जारी लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा उनी शिर्ष स्थानमा समेत छन् । साथै यो जितसँगै ६ खेलबाट १८ अंक जोडेको मनाङ शिर्ष स्थानमा यथावत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...