पुलिसलाई हराउँदै दोस्रो स्थानमा उक्लियो संकटा

काठमाडौं (खेलदैनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ मंगलबार सिएमजी संकटा क्लबले विभागिय टोली नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले पुलिसलाई २–१ ले निराश तुल्यायो । संकटाका लागि खेलको २४ औं मिनटमा सरोज दहालले पहिलो गोल गरे । त्यस्तै ३७ औं मिनटमा दिपेश आले मगरले संकटाको अग्रता दोब्बर पारे ।

उता दोस्रो गोल खाएको दुई मिनटमै पुलिसका लागि ३९ औं मिनटमा रवि पासवानले एक गोल फर्काउँदै खेलमा फर्कने संकेत देखाए तापनि पुलिसको त्यो प्रयास सफल भएन । खेलमा संकटाका सरोज दहाल म्यान अफ द म्याच घोषित भए ।

जारी लिगतर्फ ६ खेलबाट १५ अंक जोडेको संकटाले आर्मी र थ्रीस्टारलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । यद्यपि आर्मी र थ्रीस्टारले एक खेल कम खेलेका छन् । त्यस्तै पराजित पुलिस भने १० अंकका साथ पाँचौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...