स्रोत केन्द्रस्तरीय फुटबलको उपाधि बालकल्याणलाई

(कृष्ण सिन्जाली, झापा, खेलदैनिक) । बालकल्याण बाल क्लबले आयोजना गरेको काँकरभिट्टा स्रोत केन्द्र स्तरीय ‘आशिष बिक्रम नेम्बाङ स्मृति’ अन्तर मावि फुटबल प्रतियोगिताको उपाधि बालकल्याण मावि मेचीनगर–८ ले चुमेको छ ।
वडा नागरिक मञ्च मेचीनगर–८ को संयोजन, काँकरभिट्टा स्रोत केन्द्रको सहकार्यमा स्रोत केन्द्रस्तरीय बाल क्लबको एक महिने कार्यक्रम अन्तर्गत शुक्रबार  बालकल्याण माविको खेल मैदानमा भएको फाइनल खेलमा काँकरभिट्टा माविलाई १–२ गोल अन्तरले हराउँदै बालकल्याणले फाइनलको उपाधि जितेको हो ।

जितसँगै बालकल्याणले नगद ८ हजार, ट्र्फी र प्रमाण पत्र पाएको छ भने काँकरभिट्टा माविले नगद ५ हजार ट्रफी र प्रमाण पत्रमा चित्त बुझाएको छ । जितका लागि बालकल्याणका प्रमोद सापकोटा र नरेश दियालीले १-१ गोल गरेका थिए । काँकरभिट्टाका तर्फबाट सुरेन तामाङले सान्तन्वा एक गोल गरेका थिए ।

प्रतियोगिताको म्यान अफ द म्याच काँकरभिट्टाका सुरेन तामाङ भए । प्रतियोगितामा विभिन्न ६ विधामा खेलाडीहरूलाई पुरस्कृत गरिएको थियो । खेलको उत्कृष्ट गोलरक्षक बालकल्याणका प्रविन राउत, उत्कृष्ट डिफेन्स बालकल्याणका सोदि माझी, उत्कृष्ट मिडफिल्डर काँकरभिट्टाका सिद्धार्थ मगर, उत्कृष्ट स्ट्राइकरमा शहिद दशरथ चन्द माविका जमिन लिम्बू, सर्वाेउत्कृष्ट गोलकर्ता बालकल्याणका प्रमोद सापकोटा र उदयमान खेलाडीका रुपमा बालकल्याणकै नरेश दियाली घोषित भए । उत्कृष्ट खेलाडीलाई शिल्डसहित एक थान फुटबल प्रदान गरिएको थियो । उक्त फुटबल एन्फाका केन्द्रीय सदस्य पंकजबिक्रम नेम्बाङले उपलब्ध गराएका थिए ।
विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले मामा, एन्फाका केन्द्रीय सदस्य पंकजबिक्रम नेम्बाङ, काँकरभिट्टा स्रोत केन्द्रका स्रोत व्यक्ति लोकबहादुर दाहाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिपजङ्ग सुब्बा, आयोजक बाल क्लबकी अध्यक्ष मिक्सेन लावती, लगायतले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...