साविक विजेता डिएमसीलाई स्तप्ध पार्दै नव टिकुलीगढ सेमिफाइनलमा

तिलोत्तमा (खेलदैनिक) । साविक विजेता डिएमसी, तुल्सीपुरलाई हराउँदै नव टिकुलीगढ एफसी जारी दोस्रो सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा १४, बाघधुरा देवीनगरस्थित स्थानीय खेलमैदानमा आइतबार सम्पन्न पहिलो क्वाटरफाइनलमा नव टिकुलीगढले डिएमसीलाई ४–२ ले हरायो । नव टिकुलीगढको जितमा मिसन दर्लामी र एमोस पुनले २–२ गोल गरे । उता पराजित डिएमसीका लागि क्षितिजराज जिटीले एक गोल गरे भने थप एक गोल नव टिकुलीगढका विश्वास थापाले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

आइतबारको खेलमा पराजित डिएमसीका जीवन सुबेदी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंसिर १७ गते सोमबारको दोस्रो क्वाटरफाइनल खेल न्यु श्रृजना एफसी र रेसुङ्गा एफसी बीच हुने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए ।

रुपन्देहीका कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल यहि मंसिर २३ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...