अन्तर विद्यालय प्रथम स्मृति कप फुटबल शनिबारदेखि

बुटवल (खेलदैनिक) । बुटवलमा शनिबारदेखि अन्तर विद्यालय नकआउट फुटबल प्रतियोगिता शुरु हुने भएको छ । स्मृति स्पोर्टर्स क्लब, तिलोत्तमाले प्रथम स्मृति कप अन्तर विद्यालय नकआउट छात्र फुटबल प्रतियोगिता गर्न लागेको हो ।

विद्यालयस्तरबाटै खेलकूदको विकास गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । आयोजक क्लबले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दियो ।

क्लबका अध्यक्ष महेश खनालले प्रतियोगितामा रूपन्देहीको संस्थागत र निजी विद्यालय गरी २८ विद्यालयहको सहभागिता रहने जानकारी दिए । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार १ सय ११ रूपैयाँ मेडल र प्रमाणपत्र पाउनेछन । त्यस्तै उपविजेताले नगद २५ हजार १ सय ११ रूपैयाँ प्राप्त गर्नेछ ।

विभिन्न पाँच विद्याका खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल मंसिर २९ गते हुने आयोजक क्लबका अध्यक्ष खनालले जानकारी दिए । प्रतियोगिता अन्तरगत बिहान र बेलुका गरी दैनिक २ खेल खेलाइने छ ।

विद्यार्थीहरूको पढाईमा कुनै बाधा नपुगोस भनेर दुई चरणका खेल खेलाइन लागेको स्मृति बोर्डिङ स्कूलका प्रिन्सिपल हरि ज्ञवालीले जानकारी दिए । प्रतियोगिताको सह–आयोजक एन्फा एकेडेमी रहेको छ । खेलहरु बुटवल, देवीनगरस्थित एन्फा एकेडेमीमा हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...