ए डिभिजन लिग : दश खेलाडीमा सिमित संकटाको उत्कृष्ट जित

काठमाडौं (खेलदैनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ राम्रो लयमा देखिएको सिएमजी संकटा क्लबले दश खेलाडीमा सिमित भएर पनि लगातार दोस्रो जित हात पारेको छ ।

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न दोस्रो चरणको आफ्नो दोस्रो खेलमा संकटाले जावलाखेल युथ क्लबलाई शून्यका विरुद्ध २ गोलको झिनो अन्तरले हरायो । संकटाको जितमा दोस्रो हाफको ५८ औं मिनटमा सेडरिक आवाले पहिलो गोल गरे भने खेलको अन्तिमतिर ८६ औं मिनटमा आवाले नै दोस्रो गोल गर्दै संकटाको उत्कृष्ट जित पक्का गरे ।

यद्यपि खेलको शुरुवात मै संकटा दश खेलाडीमा सिमित हुन पुगेको थियो । पहिलो हाफतर्फ १८ औं मिनटमा संकटाका म्याक्सवेलले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि संकटा शुरुवातबाटै दश खेलाडीमा सिमित भएको थियो । जारी लिगमा यो पहिलो रातो कार्ड समेत थियो ।

उता जावलाखेल भने एकपटक फेरि निराश बनेको छ । आफ्नो पहिलो खेलमा पुलिससँग १–० को हार बेहोरेको जावलाखेलले त्यसलाई दोस्रो चरणमा पनि आत्मसात गर्न बाध्य भयो ।

सोमबारको खेलको म्यान अफ द म्याच पनि संकटाका लागि निर्णायक भूमिका खेलेका सेडरिक आवा घोषित भए । उनले पुरस्कार स्वरुप नगद १० हजार प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...