ए डिभिजन लिग : थ्रीस्टारको रवाफ जारी

काठमाडौं (खेलदैनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगको दावेदार मानिएको रुस्लान थ्रीस्टार क्लबले आइतबार रवाफिलो जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा थ्रीस्टारले ब्रीगेड ब्वाईज क्लब (बीबीसी) लाई ५–१ ले हरायो ।

एकतर्फी जित हात पार्ने क्रममा थ्रीस्टारका लागि ९ औं मिनटमा रजिन धिमालले पहिलो गोल गरे । त्यस्तै दोस्रो हाफको ५१ औं मिनटमा सुनिल बलले त्यो अग्रता दोब्बर पारे । यद्यपि खेलको ७४ औं मिनटमा बीबीसीका लागि रजत तिवारीले एक गोल फर्काउँदै खेलमा फर्कने संकेत देखाए ।

तर बीबीसीले त्यो गोलको खुशी धेरैबेर मनाउन सकेन । उता ८४ औं मिनटमा रन्जन बिष्टले थ्रीस्टारका लागि तेस्रो गोल गरे भने ८९ औं मिनटमा निराजन खड्काले चौथो गोल गरे । त्यस्तै अन्तिम गोल भने ८ महिनापछि मैदान फर्किएका कप्तान बिक्रम लामाले गरे ।

खेलको म्यान अफ द म्याच सुनिल बल घोषित भए । आफ्नो पहिलो खेलमा फ्रेण्डसलाई हराएको थ्रीस्टारले आफ्नो शतप्रतिशत जितको यात्रा जारी राखेको छ । उता बीबीसीको भने यो लगातार दोस्रो हार हो । यसअघि आफ्नो पहिलो खेलमा बीबीसीले मनाङसँग हार बेहोरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...