जुनियर खेलाडीलाई नवयुग र अनुको ‘खेल जीवन’

  • रमेश समदर्शी

काँकरभिट्टा (खेलदैनिक) ।‘टक् टक् आवाज आउने प्लाष्टिकको बल खेल्थेँ, त्यो फुट्दा प्लाष्टिक नै खाँदेर खेल्थेँ’, नेपाली फुटबलका स्ट्राइकर नवयुग श्रेष्ठले भनिरहँदा काँकरभिट्टा खानेपानीको हल सुनसान बन्यो । त्यो समयमा खेलेको प्लाष्टिकको बललाई अहिले कति मिस गर्छन् नवयुगले त्यो चाहिं भनेनन् । तर, १० रुपैयाँ पर्ने त्यो बल बुवा चन्द्रकृष्ण श्रेष्ठले गाउँदेखि बाहिर जाँदा ल्याइदिने गरेको चाहिँ स्मरण गरे ।

नवयुगका अनुसार उनी त्यसै नेपाली फुटबलका स्ट्राइकर बनेका होइनन् । त्यसभन्दा पहिले उनी नेपाली सेना बनेका रहेछन् । उनले आप्mनो खेल जीवन शब्दमा सुनाइरहँदा हलमा सहभागी छ जिल्लाका करिब ३० जना महिला, पुरुष खेलाडी चाखपूर्वक एकाग्र थिए ।

युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको फुटबल खेलमा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीसँग प्रदेश नम्बर १ का जुनियर खेलाडीको अन्तरक्रिया कार्यक्रम झापा जिल्ला खेलकुद विकास समितिले काँकरभिट्टामा बुधबार संयोजन गरेको थियो । कार्यक्रममा फुटबल खेलसँग सम्बन्धित प्रशिक्षकहरु पनि सामेल थिए ।

०६५ सालमा नेपाली सेनामा धनकुटाबाट भर्ती भएका नवयुगलाई उनको खेल जीवन सुनिसकेपछि जिज्ञासु सहभागीले एकपछि अर्को गर्दै प्रश्न राखे । शृंखलाबद्ध रुपमा सफलता चुमिरहेका उनलाई सुनसरीका विष्णु पराजुलीको प्रश्न थियो, ‘तपाईको सफलताको आधार के ?’ नवयुगले हसिलो मुद्रामा भने, ‘मेरो मिहीनेत ।’ जुनियर खेलाडीलाई प्रोत्साहित गर्दै उनले भने, ‘कोचले हामीलाई २–३ घण्टा सिकाउँछन्, त्यसलाई ध्यान दिएर सिक्ने अनि बाँकी समयमा आफैँले प्रयास गर्ने हो ।’

नवयुगका बुवा शिक्षक हुन् । उनैबाट फुटबल खेल्न प्रेरित गराएको कुरा दोहोर्याउँदै नवयुगले गाउँका दाजुहरुको बुट बोकेको, लुगा धोइदिएको र झोला बोकेर पछि पछि लागेको पनि स्मरण गरे । गाउँको त्रिवेणी क्लबबाट खेल जीवनमा प्रवेश गरेका नवयुगले बी र सी डिभिजन क्लबमा जाँदा ‘बेञ्च’मै बिताएको धेरै क्षण छन् ।

यसअघि उनले गाउँमा पढ्दा स्कुलबाट खेले । उमेर समूहबाट पनि खेले । कुनैमा छनौट भए, कुनैमा भएनन् । ‘मैले हिम्मत हारिनँ’, उनले भने, ‘संघर्ष गर्न छाडिनँ, कहिलेकाहीँ फ्रस्टेड भएँ तर खेल्न छाडिनँ ।’ उनले ए डिभिजनमा पनि डेब्यू गरे विभागीय टिम त्रिभुवन आर्मी क्लबबाट । उनको सौभाग्य थियो, आर्मीका मिडफिल्ड सन्तोष नेपाली मिसनमा जानु । अहिलेका स्ट्राइकर उनी पहिले मिडफिल्ड थिए ।

उनको संघर्ष र मिहेनतका चाङहरु धेरै छन् । बल्ल बल्ल विभागीय टोलीमा परेर राष्ट्रिय लिग त खेले तर संघर्ष गर्नु अझै बाँकी थियो । खेलमा राम्रो प्र्रदर्शन गरेपछि राष्ट्रिय टोलीका लागि बोलाइन्थ्यो । उनी जान्थे तर टोलीको सदस्य बन्न सकेनन् । ‘छ–सात पटक बोलाए’, उनले भने, ‘दुःख पनि लाग्यो, ढिलै भए पनि सेलेक्ट भएर छाडेँ ।’

पहिलो खेल खेल्दा कस्तो महसुस गरे होलान् ? झापाका अभिषेक श्रेष्ठको जिज्ञासा मेटाउँदै नवयुगले भने, ‘सपना पूरा भएजस्तो लाग्यो ।’ त्यहीबेला उनले आप्mनो जिम्मेवारी पनि थपिएको अनुभव सुनाए । झापाकै पुजन थापाले गेम हार्दा कस्तो महसुस गर्नुहुन्छ ? भनेर सोधे । अपेक्षाविपरीत रिजल्ट आउँदा के खेल्नु फुटबल भनेर सोच्दा रहेछन् नवयुग । फेरि आप्mनो गल्ती सुधारेर खेल्नुपर्छ भन्ने ढाडस आफैँले दिँदा पनि रहेछन् ।

एक जुनियर खेलाडीले नवयुगलाई हार्डवक कि ट्यालेन्टलाई रोज्ने भनेर सोधे । उनले हार्डवक गर्न सुझाव दिँदै हार्डवकले नै ट्यालेन्ट बढाउने बताए । परफेक्ट प्लयेर बन्न सबै पोजिसनमा खेल्नुपर्ने बताउँदै खेलमा साथीको गल्तीलाई कभर गरेर खेल्न उनले आप्mनो अनुभव साटे । खेलमा लागेर कोही कसैले पछुताउनुपर्ने अवस्था अब नरहेको अभिभावकलाई सम्बोधन गर्दै उनले पढ्दै खेल्न खेलाडीलाई पनि सुझाए ।

आप्mनो खेल जीवन सुनाउने पालो थियो, महिला राष्ट्रिय टोलीकी फरवार्ड अनु लामाको । सशस्त्र प्रहरीको एपीएफ टिम घोषणा हुँदा उनी रौतहटबाट छनौट भएकी थिइन् । उनको खेल जीवनका भोगाइ कम पीडादायी छैन । एउटी केटीले फुटबल खेल्न सिक्दा साथीभाइ र छरछिमेकले काट्ने कुराले अनुको घरभित्र पनि तनाव सिर्जना गथ्र्यो रे । ‘तर, आमाले मलाई जहिल्यै साथ दिनुभयो, अरुको कुरा सुन्नु भएन’, यति भनिसक्दा अनु केही भावुक देखिइन् ।

अनुको बुवाले त फुटबल नखेल्न भनेका रहेछन् । तर, ‘फुटबल’ आपूmलाई मनपर्ने खेल भनेर स्पष्ट कुरा राखेपछि उनका बुवाको पनि केही चलेनछ । ‘गाउँलेकै कुरा सुनेर बुवाले राम्रो नमान्नु भएको रहेछ’, उनले भनिन् ।

फुटबल सिक्दा उनले ग्राउण्डको झार उखेल्दा हातमा ठेला उठेको पनि सुनाइन् । जसोतसो ढिलै भए पनि स्कुलबाट पनि खेल्न थालिन् । पछि पढाइमा पनि असर गरेछ । ‘फस्ट हुन्थे पछि सेकेन्ड हुन थालेँ’, उनले भनिन् । तर, फुटबल खेल्न भने छाडिनन् । नियमित टे«निङले खारिन थालेपछि बागमती क्लबबाट फुटबल खेल्न थालिन् ।

यसैबीच, २०६२ सालमा यु–१९ को महिला टिममा छनौट भइन् । चीनमा भएको एसियन गेममा खेलिन्, धेरै गोलले हार्दा पनि अनु भने खुसी थिइन् । ‘सिनियर दिदीहरुसँग खेल्न पाउँदा म त खुसी नै थिएँ’, उनले कारण खोलिन् । त्यसपछि उनी एपीएफमा गइन् । साउथ एसियन गेममा २०१० मा फाइनल पुगेर भारतसँग अनुको टिमले हारेको थियो ।

अनुले फुटबलमा करिअर बनाउन पहिले गोलकिपर खेल्ने सोचेकी थिइछन् । तर, उनलाई हेक्का रहेन कि गोलकिपरको कद अग्लो हुनुपर्छ भनेर । ‘हाइट नभएरै किपर छाडेँ अनि फरवार्ड रोजेँ’, उनले हाँस्दै यसो भनिरहँदा सहभागी गललल हाँसे । महिला फुटबल टोलीको २ वर्षसम्म कप्तान बनेको उनीसँग अनुभव छ ।

छिमेकीले कुरा काटेजस्तै प्रश्न थियो, उदयपुरका अयुव राईको । केटीले खेलेर के हुन्छ भन्ने प्रश्नमा कसरी सामना गर्नुभयो ? गाउँमा भएको घटना फेरि स्मरण गरिन अनुले । अगाडि भनिन्, ‘दायाँबायाँको कुरा सुनिनँ, पछि केही गरेर देखाउँछु भन्ने लागेर आयो ।’ उदयपुरकी तुलसी श्रेष्ठको जिज्ञासा मेटाउँदै अनुले आमाले बाहिरको कुरा सुनेर गाली नगरी हौसला दिएको फेरि दोहोर्याइन् ।

पेनाल्टी मिस गर्दा कस्तो महसुस हुन्छ ? झापाका पुजनले भनिसक्दा अनुले टिमलाई हराएको महसुस हुने गरेको सुनाइन् । तर, आपूmले कहिले पनि पेनाल्टी मिस नगरेको बताइन् । झापाकी अमिशा र रितिका चौधरीले राष्ट्रिय खेलाडी बन्न अनि महिला र पुरुष खेलाडीबीच राज्यले गरेको भेदभाव गरेकोबारे प्रश्न गरेका थिए । खेलाडीले खेल जीवनबाट पैसाभन्दा पनि इज्जत, सम्मान पाइने नवयुग र अनुले सहभागीलाई सुनाएका थिए ।

मन्त्रालयले खेलाडीको के कस्ता कौशलले पदक जित्न सकिन्छ, पदक विजेता बनिनुअघि के कस्ता संघर्ष र बाधा व्यवधानको सामना गर्नुपर्छ भनेर जुनियर खेलाडीसँग अनुभव साट्न कार्यक्रम आयोजना गरिएको मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिए । खेलको विकासका लागि जुनियर खेलाडीलाई प्रेरणा मिलोस् भनेर सातै प्रदेशमा विभिन्न खेलको अन्तरक्रिया गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा स्वागत गर्दै झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले मन्त्रालयको कार्यक्रम संयोजन गर्न झापालाई जिम्मेवारी दिएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिए । उनले यस्ता कार्यक्रमबाट जुनियर खेलाडीमा उत्साह मिल्दै प्रतिस्पर्धी, योग्य र क्षमतावान नागरिक बनाउन सहयोग मिल्ने बताए ।

१ नम्बर प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा र उदयपुरका जुनियर खेलाडी सहभागी कार्यक्रमको सञ्चालन खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीले गरेका थिए भने प्रदेश सांसद श्रीप्रसाद मैनाली प्रमुख अतिथि थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...