एएफसी महिला ओलम्पिक छनौट : फेरि बराबरीमा रोकियो नेपाल

काठमाडौं (खेलदैनिक) । एएफसी महिला ओलम्पिक छनौटको पहिलो चरणको खेलतर्फ नेपालले लगातार दोस्रो खेलमा बराबरी खेल्दै अंक बाँडेको छ । छनौट खेलतर्फ समूह सी मा रहेको नेपालले आइतबार आयोजक म्यानमारसँग १–१ को बराबरी खेल्दै अँक बाँडेको हो ।

नेपाल एकपटक फेरि शुरुवाती अग्रता लिएर पनि बराबरीमा रोकिन पुग्यो । यसअघि आफ्नो पहिलो खेलमा पनि नेपालले भारत विरुद्ध शुरुवाती गोलको अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको थियो । नेपालले सोही पूनारवृत्तिलाई म्यानमार विरुद्ध पनि दोहोर्यायो ।

खेलको दोस्रो मिनटमै साबित्रा भण्डारीको गोलबाट शुरुवाती अग्ता लिएको नेपालले त्यसलाई धेरै बेर जोगाउन सकेन । उता खेलको १४ औं मिनटमै खिन मोई वाईले म्गानमारका लागि गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएकी थिईन् ।

यो नतिजासँगै २ खेलबाट २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ र दोस्रो चरणमा पुग्ने सम्भावना केही कठिन भईदिएको छ । उता ४ अंक जोडेको म्यानमार भने दोस्रो स्थानमा छ । त्यस्तै आइतबार नै बंगलादेशलाई ७–१ ले हराएको भारतको पनि समान ४ अंक छ तर राम्रो गोल भिन्नताका आधारमा शिर्ष स्थानमा छ । अंकविहीन बंगलादेश भने पुछारमा छ ।

समूह चरणतर्फ नेपालले आफ्नो अन्तिम खेल मंगलबार बंगलादेशसँग खेल्नेछ भने सोही दिन भारत र म्यानमार पनि आमने सामने हुनेछन् । साथै मंगलबारको खेलको नतिजा पश्चात् नै समूह सी बाट सोझै दोस्रो चरणमा पुग्ने टोलीको टुँगो लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...