कवासेलाई सातौं दशैं कप सेभेन ए साईड फुटबलको उपाधि

तनहुँ (खेलदैनिक) । शुक्लगण्डकी नगरपालिका–४ तनहुँमा सम्पन्न सातौं दशैं कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि कवासे युनाइटेडले जितेको छ ।

शुक्लगण्डकी नगरपालिका–४ पञ्चमुनिदेव माविको खेलमैदानमा बुधबार सम्पन्न फाइनल भिडन्तमा कवासेले नमुना एफसीलाई ३–१ ले हराउँदै उपाधि जित्न सफल भयो । कवासेका लागि दिनेश राजवंशी, अभय राना र सुवास गुरुङले गोल गरे । उता पराजित नमुनाका लागि प्रज्वल गुरुङले एक मात्र सान्त्वना गोल गरे ।

यसअघि बुधबार नै सम्पन्न सेमिफाइनल भिडन्ततर्फ कवासेले आयोजक शुक्लगण्डकी युवा क्लब (निलो) लाई ३–० ले हराउँदै उपाधि नजिक पुगेको थियो । त्यस्तै नमुनाले भने थर्पु एफसीलाई २–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको थियो ।

फाइनल खेलको म्यान अफ द म्याच कवासेका दिनेश राजवंशी घोषित भए । विजेता बनेको कवासेले उपाधिसहित नगद १,११,१११ रुपैया हात पारेको छ । त्यस्तै उपविजेता बनेको नमुनाले ६६,६६६ रुपैयामा चित्त बुझाएको छ ।

व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडी नमुनाका सुनिल घोतामे घोषित भए भने उच्च गोलकर्ताको पुरस्कार कवासेका विश्वास श्रेष्ठले हात पारे । त्यसैगरी फेयर प्ले अवार्ड भने प्र्रmेण्डशिप एफसीले जित्न सफल भयो ।

शुक्ल गण्डकी युवा क्लब, शुक्लगण्डकी नगरपालिका–४, तनहुँको आयोजनामा असोज २७ गतेदेखि शुरु भई पाँच दिनसम्म चलेको प्रतियोगितामा कुल २८ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...