ए डिभिजन लिग : सिग्नेचर मनाङको ‘सिग्नेचर’ जित

काठमाडौं (खेलदैनिक) । यसै सिजन नेपाली फुटबलमा फर्किएका अफिज ओलावालेले दुई गोल गरेपछि शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले जितका साथ लिगको शुरुवात गरेको छ ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न पहिलो चरणको अन्तिम खेलमा मनाङले ब्रीगेड ब्वाईज क्लबलाई ३–१ ले हरायो । यद्यपि खेलमा अग्रता भने ब्रीगेडले लिएको थियो ।

खेलको ३७ औं मिनटमा रजत तिवारीले ब्रीगेडका लागि गोल गर्दै टोलीलाई अप्रत्याशित अग्रता दिलाएका थिए । यद्यपि खेलको दोस्रो हाफमा उत्कृष्ट पुनार्गमन गरेको मनाङका लागि ४७ औं मिनटमा हेमन गुरुङले बराबरी गोल गरे ।


लगतै ५७ औं मिनटमा ओलावालेले मनाङका लागि दोस्रो गोल गरे भने खेलको अन्तिमतिर इन्जुरी समयको ९०+३ औं मिनटमा व्यक्तिगत दोस्रो तथा मनाङका लागि तेस्रो गोल गर्दै टोलीलाई शानदार जिलाए । खेलमा दुई गोल गरेका ओलावाले खेलको म्यान अफ द म्याच समेत घोषित भए ।


खेलपश्चात मनाङका प्रशिक्षक सुमन श्रेष्ठले आफूहरुले खेलमा शुरुवाती अग्रता लिएर अंक बटुल्न चाहेको बताए । तर पनि टोलीले जित हात पारेकोमा खुशी व्यक्त गरे । उता पराजित ब्रीगेडका प्रशिक्षक उज्जन श्रेष्ठले भने अनुभवको कमीका कारण पराजय बेहोर्न पुगेको प्रतिक्रिया दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...