नयाँ प्रशिक्षकको खोजीमा एन्फा !

काठमाडौं (खेलदैनिक) । चर्चित नेपाली फुटबल साईट गोलनेपालका अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका लागि नयाँ प्रशिक्षकको खोजी कार्य शुरु गरेको छ । खबरअनुसार एन्फाले केही युरोपियन प्रशिक्षकहरुसँग आवश्यक कुराकानी गरिरहेको बताइएको छ ।

स्रोतका अनुसार एन्फाले मच्छिन्द्र क्लबका पूर्व स्वीडीस प्रशिक्षक जोहान कालिन र नेपालको जिम्मेवारी सम्हालिसकेका पूर्व प्रशिक्षक प्याट्रिक असेम्ससँग आवश्यक छलफल गरिरहेको बताएको छ । कालिन हाल स्वीडेन मै छन् भने असेम्सले तान्जानियन क्लब सिम्बा एफसीको प्रशिक्षकीय जिम्मेवारी सम्हालिरहेका छन् ।

“राष्ट्रिय टोलीका लागि नयाँ प्रशिक्षक ल्याउन एन्फा निकै आत्तुर छ । साथै एन्फाले एकेडेमीका लागि पनि बिदेशी प्रशिक्षक ल्याउने प्रयास गरिरहेको छ ।” स्रोतको भनाई उद्दत गर्दै गोलनेपालले लेखेको छ ।


उता यसबारे एन्फाका प्रवक्ता किरन राईसँग बुझ्न खोज्दा उनले तत्काल राष्ट्रिय टोलीका लागि नयाँ प्रशिक्षकको खोजी कार्य नभएको बताएका छन् ।

भिषाको समस्याको कारण नेपालका तत्कालिन प्रशिक्षक ग्योतुकु कोजी नेपाल नफर्केपछि उनको स्थानमा एन्फाले बालगोपाल महर्जनलाई अन्तरिम प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो । महर्जन कै नेतृत्वमा नेपालले भर्खरै बंगलादेशमा सम्पन्न साफ सुजुकी कप खेल्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

नेपालले यहि आउँदो अक्टुबर १ तारीखदेखि बंगलादेश मै हुन गईरहेको प्रतिष्ठित बंगबन्धु गोल्डकप खेल्ने तयारीमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...