मोरङ फुटबल एकेडेमीलाई लक्ष्मीमार्ग गोल्डकपको उपाधि

मोरङ (खेलदैनिक) । शानदार जितका साथ मोरङ फुटबल एकेडेमीले दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

मोरङ–११ बेलबारीस्थित श्री लक्ष्मी खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा मोरङले बिर्तामोड युनाइटेड, झापालाई ६–० ले हराउँदै उपाधि जित्न सफल भएको हो । फाइनल खेलको म्यान अफ द म्याच मोरङका जीवन धामी घोषित भए ।


बिजेता बनेको मोरङले उपाधिसहित नगद २ लाख २२ हजार रुपैया नगद हात पारेको छ । त्यस्तै उपविजेता बनेको बिर्तामोडले १ लाख २ हजारमा चित्त बुझाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बिबेक पौडेल घोषित भए । उनले पुरस्कार स्वरुप नगद दश हजारका साथै एक हप्ताको दुबई टुर प्याकेज समेत हात पारे ।

त्यसैगरी उत्कृष्ट गोलरक्षक मोरङ कै किशोर गिरी घोषित भए भने उत्कृष्ट डिफेन्डर पनि मोरङ कै प्रवेश दनुवार घोषित भए । उत्कृष्ट मिडफिल्डरको अवार्ड पनि मोरङ कै सन्जोग राईले हात पारे । त्यस्तै उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षक पनि क्रमशः मोरङ कै कर्ण लिम्बु र सन्जिव बुढाथोकी घोषित भए ।


त्यसैगरी उदयीमान खेलाडी डाँगीहाट युवा क्लबका मनिश राई घोषित भए भने सर्वाधिक गोलकर्ता मोरङका कर्ण लिम्बु घोषित भए । व्यक्तिगत विधातर्फका सबैले जनही ५–५ हजार प्राप्त गरे भने सर्वाधिक गोलकर्ता बनेका कर्ण लिम्बुले ७ हजार हात पारे ।

डाँगीहाट युथ क्लब, मोरङको आयोजनामा भएको प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...