एन्फा स्याङजालाई आर्दश कपको उपाधि

पोखरा (खेलदैनिक) । लेखनाथको भण्डारढिक सैनिक बस्तीमा सम्पन्न रिद्धिसिद्धि सिमेन्ट २४ औं आर्दश कप फुटवल प्रतियोगिताको उपाधि एन्फा स्याङजाले जितेको छ । सैनिक वस्ती भण्डारढिकको खेल मैदानमा भएको फाईनल खेलमा स्याङजाले आयोजक आर्दश क्लवलाई ३–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

एन्फा स्याङजाको जितमा म्यान अफ द म्याच घोषित अजयी मार्टिन, निरज बस्नेत र विश्वास श्रेष्ठले एक–एक गोल गरे । उता आयोजक आर्दशका लागि विमल रानाले एक मात्र सान्त्वना गोल फर्काए । उपाधिसँगै स्याङ्जाले नगद ३ लाख हात पारेको छ भने उपविजेता आयोजक आदर्शले २ लाखमा चित्त बुझाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी आयोजक आर्दशका भिसन गुरुङ घोषित भए । उनले ट्रफी सहित नगद २५ हजार प्राप्त गरे । त्यसैगरी प्रतियोगितामा ४ गोल गरेका आर्दशका वेल प्रसाद गुरुङले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते ।


उत्कृष्ट डिफेन्डर आर्दशकै अजित भण्डारी, उत्कृष्ट गोलरक्षक स्याङजाका राजा बाबु थापा तथा उत्कृष्ट प्लेमेकर स्याङजाका लक्ष्मण रुचाल घोषित भए उनीहरुले जनही नगद १०–१० हजार रुपैया प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा, आयोजक क्लवका पुर्व अध्यक्ष विजय गुरुङ, क्लवका अध्यक्ष लक्ष्मी प्रसाद भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगितामा एन्फा बाग्लुङ अनुसासित टिम बनेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...