आयोजक सलल र दुहबी पुलिस उपाधिका लागि भिड्ने

लेटाङ (खेलदैनिक) । प्रथम लेटाङ क्लबस्तरीय नकआउट फुटबल प्रतियोगितामा जित हात पार्दै आयोजक सलल एफसी र दुहबी पुलिस फाइनलमा प्रवेश गरेका छन् ।

सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक सललले धोवी–तुर्के एफसीलाई २–० ले पराजित गर्यो । आयोजक टोलीको जितमा आशिष लिम्बु र रमेश लिम्बुले गोल गरे । खेलको म्यान अफ द म्याच भने पराजित धोवी–तुर्केका विवेश गुरुङ घोषित भए ।

त्यसैगरी दोस्रो सेमिफाइनलमा दुहबी पुलिसले जनसेवा एफसीलाई पेनाल्टी शुटआउटमा ५–४ ले पराजित गर्दै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो । यसअघि निर्धारित समयको खेल दुबै टिमले १–१ को बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिनुपरेको थियो ।

नियमित समयतर्फ पुलिसका लागि भुपेन लिम्बूले गोल गरे भने उता जनसेवाका लागि विनोद लामाले गोल गरेका थिए । दोस्रो सेमिफाइनल खेलको म्यान अफ द म्याच जनसेवाका विनोद लामा घोषित भए । प्रतियोगिता अन्तरगत अब भदौ २७ गते हुने फाइनल भिडन्तमा आयोजक सलल एफसी र दुहबी पुलिस भिड्नेछन् ।

सलल फुटबल क्लबको आयोजना तथा लेटाङ नगरपालिका वडा नं ६ को सह–आयोजनामा गत भाद्रौ २० गतेबाट शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार प्राप्त गर्नेछ भने उपविजेताले १० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट व्यक्तिगत विद्यातर्फका खेलाडीहरु पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...