काठमाडौं (खेलदैनिक) । बंगलादेशमा जारी साफ सुजुकी कपतर्फ समूह ए को विजेता नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ ।
आइतबार ढाका स्थित बंगबन्धु नेशनल स्टेडियममा सम्पन्न समूह बी तर्फको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई २–० ले हराउँदै ६ अंकका साथ समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गर्यो ।
समूह बी मै रहेका माल्दिभ्स र श्रीलंकाको समान १–१ थियो र दुवै टोलीले भारतसँग २–० को हार बहोरेका थिए । यद्यपि समूह बी बाट प्रतियोगिताको नियमअनुसार आयोजकले कोइन टोस गर्दै माल्दिभ्सलाई समूह बी को उपविजेता घोषित गर्यो भने श्रीलंका दुर्भाग्यपूर्ण रुपमा बाहिरिन पुग्यो ।
आइतबारको नतिजासँगै सेमिफाइनल समिकरण पनि पूरा भएको छ । सेमिफाइनलतर्फका दुवै खेल बुधबार हुनेछन् । जसअन्तरगत नेपालले पहिलो सेमिफाइनलमा माल्दिभ्सको सामना गर्नेछ भने भारतले पाकिस्तानसँग भिड्नेछ ।