प्रतिस्पर्धात्मक जितका साथ फर्साटिकर फाइनलमा

बुटवल (खेलदैनिक) । प्रतिस्पर्धात्मक जित हात पार्दै फर्साटिकर युवा क्लब, फर्साटिकर यहाँ जारी प्रथम रुपन्देही कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुटवल–१४ बेलभरियास्थित स्थानीय खेलमैदानमा शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा फर्साटिकरले वेलफेयर सोसाईटी वाणगंगा, कपिलवस्तुलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

खेलमा फर्साटिकरले १२ औं मिनटमा वेलफेयर सोसाईटीका सामर्थ मल्लको आत्मघती गोलबाट शुरुवाती अग्रता लिएको थियो । त्यस्तै लगतै १८ औं मिनटमा सुरज हमालले फर्साटिकरका लागि दोस्रो गोल गरे । उता पराजित वेलफेयर सोसाईटीका लागि ५० औं मिनटमा आशिष जिसीले एक गोल फर्काए तापनि त्यो टोलीको हार टार्न प्रर्याप्त बनेन ।

प्रतियोगिता अन्तरगत भदौ २४ गते आइतबारको दोस्रो सेमिफाइनल खेल न्यु सिर्जजा युवा क्लब र सुनौलो संगम युवा क्लब बीच हुने आयोजकका खेल संयोजक शिव रानाले जानकारी दिए ।

शान्तिनगर टोल विकास संस्था, बुटवल–१४ बेलभरियाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार १ सय ५१ रुपैया हात पार्ने आयोजकले जनाएको छ ।

त्यसैगरी व्यक्तिगत उत्कृष्ट विद्यातर्फका खेलाडीहरुलाई पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । रुपन्देही र कपिलवस्तुका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल यहि आउँदो भदौ २६ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...