टाईब्रेकरमा जित हासिल गर्दै न्यु सिर्जना सेमिफाइनलमा

बुटवल (खेलदैनिक) । टाईब्रेकरमा रोमाञ्चक जित हात पार्दै न्यु सिर्जना युवा क्लब जारी प्रथम रुपन्देही कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवल–१४ बेलभरियास्थित स्थानीय खेलमैदानमा शुक्रबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा न्यु सिर्जनाले डिवाइसी देवीनगरलाई टाईब्रेकमरमा ५–४ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

शुक्रबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । प्रतियोगिता अन्तरगत भदौ २३ गते शनिबारको पहिलो सेमिफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र वेलफेयर सोसाइटी वाणगंगा, कपिलवस्तु बीच हुनेछ ।

त्यस्तै दोस्रो सेमिफाइनल खेल भने भदौ २४ गते आइतबार न्यु सिर्जजा युवा क्लब र सुनौलो संगम युवा क्लब बीच हुने आयोजकका खेल संयोजक शिव रानाले जानकारी दिए ।

शान्तिनगर टोल विकास संस्था, बुटवल–१४ बेलभरियाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार १ सय ५१ रुपैया हात पार्ने आयोजकले जनाएको छ ।

त्यसैगरी व्यक्तिगत उत्कृष्ट विद्यातर्फका खेलाडीहरुलाई पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । रुपन्देही र कपिलवस्तुका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल यहि आउँदो भदौ २६ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...