यसरी पुग्न सक्छ नेपाल सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । साफ सुजुकी कपको समूह ए तर्फ शनिबार निर्णायक तथा समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्दैछ भने पाकिस्तानले भुटानसँग भिड्दैछ । समूह ए बाट चारै टोलीको सेमिफाइनल सम्भावना कायम छ ।

लगातार दुई खेल हारे तापनि भुटानले पनि पाकिस्तानविरुद्ध कुनै चमत्कार गर्न सके उसको अन्तिम चारको सम्भावना पनि जिवन्त रहन सक्छ । संक्षेपमा भन्नुपर्दा साफ च्याम्पियनसिपको समूह ए तर्फ शनिबार हुने अन्तिम खेलहरुबाट अप्रत्याशित नतिजा पनि निस्किन सक्छ ।

आयोजक बंगलादेश समूह ए तर्फ २ खेलबाट ६ अंक जोड्दै शिर्ष स्थानमा छ । नेपाल र पाकिस्तानको समान ३–३ अंक छ र दुवै टोली क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अंकविहीन भुटान भने पुछारमा छ । रोचक कुरा त साफले समूह चरणमा हेड टु हेड नभएर गोल भिन्नता गणना गरिने बताएको छ । यसको अर्थ आफू अनुकुल नतिजा नआए शिर्ष स्थानमा रहेको आयोजक बंगलादेश पनि समूह चरणबाट बाहिरिन सक्छ ।

सेमिफाइनल स्थान सुरक्षित गर्न बंगलादेशलाई नेपालविरुद्ध कम्तीमा पनि अंक आवश्यक छ । नेपालसँगको हार बंगलादेशलाई समूह चरणबाटै बाहिर पठाउन पनि सक्छ ।

उता पहिलो खेलमा पाकिस्तानसँग २–१ को हार बेहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० ले हराउँदै जितको लय समाउन सफल भएको थियो । र त्यो जितको लयलाई नेपालले भोली बंगलादेशविरुद्धको निर्णायक खेलमा पनि निरन्तरता दिन चाहन्छ ।

पाकिस्तान र भुटानबीचको खेलमा स्पष्ट जितको नतिजा निस्किए नेपाल कम्तीमा पनि तीन अंक आवश्यक पर्नेछ । यद्यपि भुटानले पाकिस्तानलाई हराउन हरसम्भव प्रयास गर्न सक्नेछ । त्यसैले पनि पाकिस्तानले भुटानलाई भोली कमजोर आँक्ने गल्ती गर्न नहुने धेरैको बुझाई छ ।

नेपालले जितका साथ स्पष्ट तीन अंक हात पारे र उता पाकिस्तानले भुटानलाई पराजित गरे समूह ए तर्फ नेपाल शिर्ष स्थानमा उक्लिने अवसर पाउनेछ । यो अवस्थामा नेपालले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्नु नपर्ने सम्भावना पनि कायम छ ।

त्यसैगरी पाकिस्तान निश्चित रुपमा सेमिफाइनल प्रवेश गर्न चाहन्छ र उसले शनिबार तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी भुटानसँग भिड्नेछ । यदि भोली नेपालले बंगलादेशलाई हराए पाकिस्तानले भुटानविरुद्ध राम्रो गोल भिन्नताले जित हात पार्नु पर्नेछ । र यदि बंगलादेशले नेपाललाई पराजित गरे पाकिस्तानले भुटान विरुद्ध बराबरी गरे पनि सेमिफाइनल पुग्न प्रर्याप्त हुनेछ ।

त्यस्तै समूह ए मा सबैभन्दा कमजोर टोली आँकिएको भुटानले अहिलेसम्म खासै प्रभावशाली प्रदर्शन गर्न सकेको छैन । यदि पाकिस्तानलाई भुटानले बराबरीमा रोक्न सक्यो भने पनि त्यसले नेपाललाई सेमिफाइनलमा प्रवेश गर्न सहयोग पुग्नेछ । साथै यदि भुटानले अप्रत्याशित जित हात पारे त्यसले नेपाललाई समूह चरणबाटै बाहिर पठाउन पनि सक्छ ।

भुटानको सेमिफाइनल प्रवेश गर्ने सम्भावना पनि छ, यदि उसले पाकिस्तानलाई पराजित गरे र बंगलादेशले नेपाललाई हराए, समग्रमा ९ गोल भिन्नताका आधारमा भुटान अन्तिम चारमा प्रवेश गर्न सक्नेछ । यद्यपि यो समिकरण भुटानका लागि निकै कठिन र असम्भव जस्तै छ ।

साथै समूह ए का सबै खेलहरु ढाकास्थित बंगबन्धु नेशनल स्टेडियम मै हुने भएकोले चारै टोलीले आ–आपनो रणनीति अनुसार बिपक्षी विरुद्ध उत्रिने निश्चित पनि छ । जसले गर्दा भोलीको दुवै निर्णायक खेलहरु रोमाञ्चक र कौतुहुलपूर्ण समेत हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...