अनन्त भन्छन् “बंगलादेशलाई हराउँदै सेमिफाइनलमा पुग्नेछौं ।”

काठमाडौं (खेलदैनिक) । नेपालका युवा डिफेन्डर अनन्त तामाङले आयोजक बंगलादेशप्रति सम्मान प्रकट गर्दैसमूह चरणको अन्तिम खेलमा आयोजकलाई नै हराएर नकआउट चरणमा पुग्ने बताएका छन् ।

बिहीबार भुटानविरुद्ध हात पारेको ४–० को जितमा अनन्तले नेपालका लागि पहिलो गोल गरेका थिए । यो जितसँगै नेपालले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । यसअघि आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसँग १–२ को हार बेहोरेको थियो ।


भुटान विरुद्धको खेलपश्चात् पत्रकार सम्मेलनमा बोल्दै अनन्तले भने, “पाकिस्तानसँगको हार पश्चात् हामीलाई हौसला दिने प्रशिक्षकलाई धन्यवाद दिन चाहन्छु । भुटान विरुद्धको जितले म खुशी छु । अब हाम्रो अर्को खेल बंगलादेशसँग छ । उनीहरु बलिया छन्, तर पनि हामी उनीहरुलाई हराउँदै नकआउट चरणमा जानेछौं ।”

समूह ए मा रहेको नेपालले आफ्नो अन्तिम खेल आयोजक बंगलादेशसँग शनिबार खेल्दैछ । सोही दिन पाकिस्तानले पनि भुटानको सामना गर्दैछ । शनिबारको खेल पनि नेपालका लागि महत्वपूर्ण हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...