भुटानमाथि नेपालको जित इतिहासदेखि वर्तमानसम्म निरन्तर

काठमाडौं (खेलदैनिक) । साफ च्याम्पियनसिपतर्फ महत्वपूर्ण मानिएको खेलमा नेपालले दश खेलाडीमा सिमित भुटानमाथि शानदार जित हात पार्दै सेमिफाइनल प्रवेशको सम्भावनालाई जिवन्त राखेको छ ।

बिहीबार सम्पन्न समूह ए तर्फको पहिलो खेलमा नेपालले भुटानमाथि ४–० को उत्कृष्ट जित हात पार्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम राख्यो । ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा सम्पन्न खेलको २१ औं मिनटमा सुनिल बलको कर्नर पासमा अनन्त तामाङले हेडद्वारा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफ १–० को अग्रता कायम गरेको नेपालले दोस्रो हाफमा थप आक्रमक प्रदर्शन गर्दै थप तीन गोल गर्न सफल भयो । त्यस्तै खेलको ६९ औं मिनटमा भुटानका निमा वाङ्दीले दोहोरो पहेंलो काड खाँदै मैदान बाहिरिए पछि भुटान दोस्रो हाफको अन्तिम २० मिनट दश खेलाडीमा सिमित हुन पुगेको थियो ।


सोही समयमा प्राप्त पेनाल्टीलाई ७० औं मिनटमा नेपालका बिमल घर्तीले प्रहार गरे तापनि त्यो पेनाल्टी प्रहार बिपक्षी गोलरक्षकले बिफल तुल्याईदिएका थिए । यद्यपि फर्किएको बललाई ७१ औं मिनटमा सुनिल बलले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।

त्यस्तै नेपालका लागि तेस्रो गोल वैकल्पिक खेलाडीका रुपमा छिरेका भरत खवासले गरे । मैदान प्रवेश गरेको पाँच मिनट बित्न नपाउँदै ७९ औं मिनटमा खवासले नेपालको अग्रता तेब्बर पारेका थिए । त्यस्तै खेलको अन्तिमतिर ८८ औं मिनटमा सुनिल बलको पासमा निराजन खड्काले चौथो गोल गर्दै नेपालको शानदार जित सुनिश्चित गरेका थिए ।

समूह चरणको अन्तिम खेलमा नेपालले अब शनिबार आयोजक बंगलादेशको सामना गर्नेछ । त्यस्तै सोही दिन भुटानले पाकिस्तानको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...