वेलफेयर सोसाइटी अन्तिम चारमा

बुटवल (खेलदैनिक) । वेलफेयर सोसाइटी वाणगंगा, कपिलवस्तु यहाँ जारी प्रथम रुपन्देही कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवल–१४ बेलभरियास्थित स्थानीय खेलमैदानमा बुधबार सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो क्वाटरफाइनलमा वेलफेयर सोसाइटीले कृष्णगंज युवा क्लबलाई ४–२ ले हराउँदै अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

खेलमा वेलफेयर सोसाइटीका लागि सचिन जि.सी., रतन शाही, आशिष जि.सी. र अरुण चौधरीले १–१ गोल गरे । उता पराजित कृष्णगंजका लागि मोहन भण्डारी र सुरेश पुलामीले सान्त्वना गोल फर्काए ।

प्रतियोगिता अन्तरगत भदौ २१ गते बिहीबारको तेस्रो क्वाटरफाइनल खेल सुनौलो संगम युवा क्लब र आयोजक टोली संयुक्त युवा क्लबबीच हुने आयोजकका खेल संयोजक शिव रानाले जानकारी दिए ।

शान्तिनगर टोल विकास संस्था, बुटवल–१४ बेलभरियाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार १ सय ५१ रुपैया हात पार्ने आयोजकले जनाएको छ ।

त्यसैगरी व्यक्तिगत उत्कृष्ट विद्यातर्फका खेलाडीहरुलाई पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । रुपन्देही र कपिलवस्तुका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल यहि आउँदो भदौ २६ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...