आयोजक टोली संयुक्त युवा क्लबको उत्कृष्ट जित

बुटवल (खेलदैनिक) । आयोजक संस्थाको टोली संयुक्त युवा क्लब उत्कृष्ट जितका साथ बुटवलमा जारी प्रथम रुपन्देही कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार बुटवल–१४ बेलभरियास्थित स्थानीय खेलमैदानमा सम्पन्न खेलमा आयोजक संयुक्तले सौभाग्य युवा क्लबलाई ४–१ ले हरायो । आयोजकको जितमा बिनोद केसी, बिजय सिंह ठकुरी, रोशन घले र रेशम रानाले एक–एक गोल गरे । उता पराजित सौभाग्यका लागि आशिष रानाले एक मात्र सान्त्वना गोल गरेका थिए ।

त्यसैगरी शनिबार नै सम्पन्न दोस्रो खेलमा प्रतियोगिताको दावेदार मानिएको सुनौलो संगम युवा क्लब, देवीनगरले पनि शानदार जित दर्ता गरेको छ । शानदार जित हात पार्ने क्रममा सुनौलोले नवयुवा खेलकेुद तथा साँस्कृतिक परिवार, ठुटिपिपललाई ६–० को फराकिलो अन्तरले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गर्यो ।

प्रतियोगिता अन्तरगत आइतबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा वाणगंगा वेलफेयर सोसाईटी र राधाकृष्ण युवा क्लब भिड्ने छन् भने अर्को खेलमा माउण्टस्टार क्लब र डि.वाई.सी, देवीनगर भिड्ने आयोजकका खेल संयोजक शिव रानाले जानकारी दिए ।

शान्तिनगर टोल विकास संस्था, बुटवल–१४ बेलभरियाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार १ सय ५१ रुपैया हात पार्ने आयोजकले जनाएको छ ।

त्यसैगरी व्यक्तिगत उत्कृष्ट विद्यातर्फका खेलाडीहरुलाई पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । रुपन्देही र कपिलवस्तुका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल यहि आउँदो भदौ २६ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...