रेड स्टारलाई पाथीभरा गोल्डकपको उपाधि

फुङलिङ (खेलदैनिक) । तेस्रो पाथीभरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि रेड स्टार एफसी, बिर्तामोड, झापाले जित्न सफल भएको छ ।

शनिबार सदरमुकामस्थित भानु मा.वि. को खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा रेड स्टारले शहरी प्रतिद्वन्द्वी न्यू स्टार क्लब, झापालाई २–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । फाइनल खेलको म्यान अफ द म्याच रेड स्टारका पदम लामा घोषित भए ।


बिजेता बनेको रेड स्टारले उपाधिसहित नगद ३ लाख १ हजार १ सय ११ रुपैया हात पारेको छ भने उपविजेता बनेको न्यू स्टारले १ लाख ५१ हजारमा चित्त बुझाएको छ ।

त्यसैगरी व्यक्तिगत विधातर्फ रेड स्टारका बिबेक पौडेल प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले पुरस्कार स्वरुप नगद १० हजार, ट्रफी र प्रमाणपत्र हात पारे । उत्कृष्ट गोलरक्षक पनि रेड स्टार कै दिनेश थापा मगर घोषित भए भने उत्कृष्ट रक्षक न्यु स्टारका बिशाल दर्जी घोषित भए ।


त्यसैगरी उत्कृष्ट मिडफिल्डरको पुरस्कार न्यू स्टारका सञ्जोक राईले प्राप्त गरे भने उत्कृष्ट फरवार्ड रेड स्टारका जोना ग्लोरी घोषित भए । त्यस्तै उत्कृष्ट प्रशिक्षकको पुरस्कार बिजेता रेड स्टार कै खामिर गिल्सन कान्दङ्वाले हात पारे । उत्कृष्ट विद्यातर्फका सबैले जनही १०–१० हजार प्राप्त गरे ।

लाखेजात्रा आयोजक कमिटी, ताप्लेजुङको आयोजनामा गत भदौ ८ गतेदेखि शुरु प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...