साविक विजेतालाई स्तब्ध पार्दै न्यू स्टार, झापा फाइनलमा

फुङलिङ (खेलदैनिक) । एक गोलले पछि परेको स्थिति उल्टाउँदै रोमाञ्चक जितका साथ न्यू स्टार क्लब, झापा, जारी तेस्रो पाथीभरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सदरमुकामस्थित भानु मा.वि. को खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा न्यू स्टारले साविक विजेता चर्च ब्वाईज, युनाइटेड, काठमाडौंलाई २–१ ले हराउँदै फाइनल स्थान सुुरक्षित गर्यो । यद्यपि खेलमा अग्रता भने चर्च ब्वाईजले लिएको थियो ।

खेलको ३७ औं मिनटमा बुद्धिमान राईले गोल गर्दै चर्च ब्वाईजलाई शुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ४७ औं मिनटमा चर्च ब्वाईजका डिफेन्डर रमेश दंगलले आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो ।


प्रतिस्पर्धात्मक खेल अतिरिक्त समयतिर लम्किरहेकै बेला इन्जुरी समयको ९३ औं मिनटमा न्यू स्टारका कप्तान सनम राईले गोल गर्दै झापाली क्लबको फाइनल यात्रा सुनिश्चित गरेका थिए । शुक्रबारको खेलमा न्यु स्टारका बिशाल दर्जी म्यान अफ द म्याच घोषित भए ।

अब उपाधिका लागि न्यू स्टारले शनिबार फाइनलमा शहरी प्रतिद्वन्द्वी रेड स्टार क्लब, झापाको सामना गर्ने आयोजकले जनाएको छ ।

लाखेजात्रा आयोजक कमिटी, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...