रोमाञ्चक जितका साथ चर्च ब्वाईज सेमिफाइनलमा

फुङलिङ (खेलदैनिक) । चर्च ब्वाईज युनाइटेड, काठमाडौं ताप्लेजुङमा जारी तेस्रो पाथीभरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार सदरमुकामस्थित भानु मा.वि. को खेलमैदानमा सम्पन्न अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाईजले एम्ब्रियो युवा क्लब, मोरङलाई ३–२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । मोरङले दुईपटकको अग्रता जोगाउन नसक्दा पराजय बेहोर्न बाध्य भयो ।

खेलको दशौं मिनटमै मोरङका दिपक राईले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । तर ४४ औं मिनटमा यक्सल वलनले चर्च ब्वाईजका लागि बराबरी गोल फर्काएका थिए । त्यस्तै ५८ औं मिनटमा सुवास राईले गोल गर्दै मोरङलाई दोस्रोपटक अग्रता दिलाएका थिए ।

यद्यपि त्यो अग्रता पनि मोरङले जोगाउन सकेन । उता खेलको ६७ औं मिनटमा जङ्बु शेर्पाले चर्च ब्वाईजका लागि दोस्रो बराबरी गोल फर्काए भने ८७ औं मिनटमा दिपेश श्रेष्ठले गोल गर्दै चर्च ब्वाईजको जित सुनिश्चित गरेका थिए ।

बुधबारको नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । प्रतियोगिता अन्तरगत बिहीबारको पहिलो सेमिफाइनल खेल राष्ट्रिय जागृति क्लब, सुनसरी र रेड स्टार क्लब, झापाबीच हुने आयोजकले जनाएको छ । त्यस्तै दोस्रो सेमिफाइनलमा शुक्रबार चर्च ब्वाईजले न्यू स्टार क्लब, बिर्तामोड झापाको सामना गर्नेछ ।

लाखेजात्रा आयोजक कमिटी, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...