
मंगलबारको खेलमा म्यान अफ द म्याच घोषित राष्ट्रिय जागृति क्लबका बिबेश चौधरी (दाँया) ।
फुङलिङ (खेलदैनिक) । राष्ट्रिय जागृति क्लब, सुनसरी ताप्लेजुङमा जारी तेस्रो पाथीभरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा राष्ट्रिय जागृतिले युनाइटेड खर्साङ एफसी, दार्जिलिङलाई पेनाल्टी शुटआउटमा ३–० ले हरायो । यसअघि सदरमुकामस्थित भानु मा.वि. को खेलमैदानमा सम्पन्न नियमित समय तथा थपिएको अतिरिक्त समयमा पनि दुवै टोलीले रोमाञ्चक गोलरहित बराबरी खेलेका थिए ।
मंगलबारको खेलमा पेनाल्टी शुटआउटतर्फ विपक्षीका दुई प्रहार बिफल तुल्याइदिएका राष्ट्रिय जागृतिका गोलरक्षक बिबेश चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद ५ हजार प्राप्त गरे ।
Rastriya Jagriti Itahari Enters SFs https://t.co/Duh20R9pSf
— GoalNepal.com (@Goal_Nepal) August 28, 2018
राष्ट्रिय जागृतिले अब सेमिफायनलमा रेड स्टार क्लब, झापाको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत बुधबारको अन्तिम क्वाटरफाइनल खेल आम्ब्रोज क्लब, मोरङ र चर्च ब्वाईज युनाइटेड, काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।
लाखेजात्रा आयोजक कमिटी, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ ।