रेड स्टार एफसी सेमिफाइनलमा

फुङलिङ (खेलदैनिक) । रेड स्टार एफसी, बिर्तामोड तेस्रो पाथीभरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सदरमुकामस्थित भानु मा.वि. को खेलमैदानमा सम्पन्न आइतबारको प्रतिस्पर्धात्मक खेलमा रेड स्टारले रेड हर्स क्लब, इलामलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

रेड स्टारका लागि अजयी मार्टिन्स र जोना ग्लोरीले एक–एक गोल गरे । उता पराजित रेड हर्सका लागि सञ्जय धिमालले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा रेड स्टारका विवेश पौडेल म्यान अफ द म्याच घोषित भए ।


प्रतियोगिता अन्तरगत सोमबारको खेल कर्णसिंह सोनाम एफसी, ताप्लेजुङ र न्यू स्टार क्लब, बिर्तामोडबीच हुने आयोजकले जनाएको छ ।

लाखेजात्रा आयोजक कमिटी, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...