आहा ! रारा गोल्डकपबाट ९० लाखभन्दा बढी आम्दानी

पोखरा (खेलदैनिक) । मोफसलको प्रतिष्ठित मध्ये एक आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिताको १६ औं संस्करणबाट ९४ लाख आम्दानी भएको छ ।

गत बर्षको माघ ९ गतेदेखी २० गतेसम्म पोखरा रंगशालामा संचालन भएको १६ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटवल प्रतियोगिताबाट ९४ लाख ४१ हजार १ सय ४८ रुपैयाँ आम्दानी भएको अर्थ संकलन उपसमिति संयोजक टीकाबहादुर कार्कीले शनिबार पोखरामा आयोजित आय व्याय सार्वजनिक कार्यक्रममा बताएका हुन ।

कार्कीका अनुसार उक्त प्रतियोगिताबाट २३ लाख ७६ हजार ९७ रुपैयाँ बचत भएको छ । ११ दिनसम्म संचालन भएको उक्त प्रतियोगिता सम्पन्न गर्न ७० लाख ६५ हजार ५० रुपैयाँ खर्च भएको कार्कीले बताए । सहारा क्लवले संचालन गरेको उक्त प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

उनका अनुसार मुख्य प्रायोजक हिमश्री फुड्स प्रालि, सह प्रायोजक तथा प्रायोजकबाट ३५ लाख १७ हजार ५ सय रुपैयाँ संकलन भएको थियो । प्रवेश शुल्कबाट ३३ लाख ५० हजार ६ सय ८५ रुपैयाँ संकलन भएको छ । व्यानरबाट २५ लाख ५४ हजार ६ सय ६५ रुपैयाँ संकलन भएको थियो । प्रतियोगितामा खेलाडीको दैनिक भ्रमण खर्चमा २८ लाख २२ हजार ५ सय ६० रुपैयाँ खर्च भएको क्लवका अध्यक्ष केशबबहादुर थापाले बताए ।

२०५८ सालमा क्याराभान गोल्डकपबाट प्रतियोगिता आयोजना गर्न थालेको सहारा क्लव पोखराले हरेक वर्ष आहा ! रारा गोल्डकप प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताबाट बचत रकम सहारा क्लवद्वारा सञ्चालित सहारा एकेडेमीमा खर्च गरिने क्लवले जनाएको छ । आवासीय एकेडेमीमा १३ जिल्लाका २८ जना बालक रहेका छन ।


प्रतिक्रिया दिनुहोस

Loading...