गोलनेपालद्वारा ताप्लेजुङका रेफ्रीलाई रेडियो कम्युनिकेसन सेट हस्तान्तरण

रेडियो कम्युनिकेसन सेट हस्तान्तरण गर्दै गोलनेपाल फाउण्डेशनका अध्यक्ष बिक्रम थापा (बाँया) ।

काठमाडौं (खेलदैनिक) । नेपाली फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएको गोलनेपाल डटकमको एक हिस्साका रुपमा रहेको गोलनेपाल फाउण्डेशनले ताप्लेजुङ जिल्लाका रेफ्रीलाई रेडियो कम्युनिकेशन सेट हस्तान्तरण गरेको छ ।

गोलनेपालका सिइओ तथा फाउण्डेशनका अध्यक्ष समेत रहेका बिक्रम थापाले शुक्रबार उक्त कम्युनिकेसन सेट लाखेजात्रा आयोजक कमिटीका अध्यक्ष मोती पतंग्वा लिम्बु र फुङलिङ नगरपालिकाका नगरप्रमुख छत्र प्याकुरेललाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

सो रेडियो कम्युनिकेसन सेट गोलनेपालको विशेष सहयोगी समेत रहेको अमेरिकाको टेक्सासमा क्रियाशील गुखार्ज डालास एफसीले उपलब्ध गराएको थियो ।

कम्युनिकेशन सेट हस्तान्तरण कार्यक्रममा बोल्दै फाउण्डेशनका अध्यक्ष बिक्रम थापाले भने, “नेपाली फुटबलको विकास र प्रवद्र्धनमा हामी दिनरात लागिपरेका छौं । हामी प्रत्येक महिना विभिन्न जिल्लाका बालबालिका तथा महिला फुटबलको विकासमा सहयोग गर्दै आईरहेका छौं ।”

अध्यक्ष थापाले अगाडी भनेका छन्, “यस महिनादेखि हामीले विभिन्न जिल्लाका रेफ्रीहरुलाई पनि सहयोग गर्ने कार्यको शुरुवात गरेका छौं । साथै ताप्लेजुङ जिल्लाका रेफ्रीहरुलाई सहयोग गर्न पाउँदा हामीलाई खुशी पनि लागेको छ ।”


त्यस्तै रेडियो कम्युनिकेसन सेट उपलब्ध गराएको गुर्खाज डालास एफसीका अध्यक्ष बिनोद बिष्टले भने, “नेपाली फुटबलको विकास र प्रवद्र्धनमा हामीले गोलनेपालसँग सहकार्य गर्न पाएकोमा निकै गर्व महशुस गरिरहेका छौं । आगामी दिनहरुमा पनि गोलनेपाललाई हाम्रो सहयोग जारी रहनेछ ।”

उता रेडियो कम्युनिकेसन सेट हात पारेपछि लाखेजात्रा आयोजक कमिटीका अध्यक्ष मोती पतंग्वा लिम्बुले खुशी व्यक्त गर्दै भने, “गोलनेपालको यो सहयोग र समर्थनप्रति हामी आभारी छौं । यो हाम्रो लागि विशेष सहयोग हो । खासगरी स्थानीय रेफ्रीहरुका लागि यो ठूलो सहयोग समेत हो । यहाँका रेफ्रीहरुले यो सेट देखे तापनि प्रयोग गर्न पाएका थिएनन् । यो सेट पाएपछि रेफ्रीहरु पनि निकै खुशी हुनेछन् ।”

लाखेजात्रा आयोजक कमिटी, ताप्लेजुङको आयोजनामा शुक्रबारदेखि सदरमुकामस्थित भानु मा.वि. को खेलमैदानमा तेस्रो पाथीभरा गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल यहि भाद्र १६ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...