एसियाडमा आफूभन्दा निकैे तल्लो वरियताको पाकिस्तानसँग पनि हार्यो नेपाल

काठमाडौं (खेलदैनिक) । इण्डोनेसियामा जारी एसियन गेम्स (एसियाड) को पुरुष फुटबलतर्फ नेपाल समूह चरणको अन्तिम खेलमा आफूभन्दा निकै तल्लो वरियताको पाकिस्तानसँग पराजित भएको छ । जारी एसियाडमा नेपाली यु–२३ टोलीको यो लगातार तेस्रो हार हो ।

आइतबार सम्पन्न समूह डी तर्फको आफ्नो अन्तिम खेलमा १६१ औं वरियतामा रहेको नेपालले २०१ औं वरियताको पाकिस्तानसँग २–१ ले पराजित हुन पुगेको हो । खेलमा शुरुवाती अग्रता भने नेपालले लिएको थियो । खेलको ११ औं मिनटमा शाहबाज युनेसको आत्मघाती गोलबाट नेपालले शुरुवाती अग्ता लिएको थियो ।

यद्यपि दोस्रो हाफको ५५ औं मिनटमा मुहम्मद बिलालले पाकिस्तानका लागि पहिलो र बराबरी गोल फर्काए भने ७२ औं मिनटमा कप्तान सद्दाम हुसेनले पेनाल्टीबाट गोल गर्दै पाकिस्तानी टोलीलाई निर्णायक जित दिलाए ।

यो हारसँगै नेपालको नकआउट चरणमा पुग्ने झिनो सम्भावना पनि समाप्त भएको छ । नेपालले आफ्नो पहिलो खेलमा जापान र दोस्रो खेलमा भियतनामसँग हार बेहोरेको थियो । त्यस्तै जित हात पारेको पाकिस्तानले भने आफ्नो नकआउट चरण प्रवेशको सम्भावना कायम राखेको छ ।

त्यसैगरी समूह डी तर्फ नै आइतबार सम्पन्न अर्को खेलमा भियतनामले जापानलाई १–० ले हराउँदै समूह विजेता बनेको छ । जापान भने उपविजेता बनेको छ । जापान र भियतनाम यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...