
(तस्विर : पर्सिजा जकार्ता)
काठमाडौं (खेलदैनिक) । इण्डोनेसियामा जारी एसियन गेम्स (एसियाड) को पुरुष फुटबलतर्फ आज नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानको सामना गर्दैछ । नकआउट चरणमा प्रवेशको सम्भावनालाई कायम राख्न नेपालले आज फेयर प्लेका साथ निश्चित जित हात पार्नुपर्नेछ ।
समूह डी तर्फ बेकासीमा नेपाली समयअनुसार आज ३:३० बजे शुरु हुने खेलमा नेपाललाई बलियो प्रत्याशी मानिएको छ । यद्यपि खेलमा पाकिस्तानले पनि नतिजा आफ्नो पक्षमा पार्दै एसियाडको सुखद समापन गर्न चाहन्छ ।
समूह डी मै रहेको जापान र भियतनाम पनि आज नै आमने सामने हुँदैछन् । यी दुईबीचको नतिजाले समूह डी को विजेताको टुँगो लगाउने छ ।