काठमाडौं (खेलदैनिक) । भुटानमा जारी दोस्रो साफ यु–१५ महिला च्याम्पियनसिपको फाइनलमा फेरि साविक विजेता बंगलादेश र उपविजेता भारत भिड्ने भएका छन् ।
बिहीबार चाङलिमिथाङ स्टेडियममा सम्पन्न दोस्रो सेमिफाइनलमा बंगलादेशले आयोजक भुटानलाई शून्यकाविरुद्ध ५ गोलले हराउँदै भारतसँगको फाइनल भिडन्त पक्का गरेको हो ।
यसअघि बिहीबार नै सम्पन्न पहिलो सेमिफाइनलमा भारतले नेपाललाई २–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ ।
अब उपाधिका लागि बंगलादेश र भारतले शनिबार फाइनल खेल्ने छन् भने सोही दिन नेपाल र भुटान तेस्रो स्थानका लागि आमने सामने हुनेछन् ।
गत बर्ष बंगलादेशमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणतर्फ फाइनलमा बंगलादेशले भारतमाथि १–० को जित हात पार्दै पहिलो पटक उपाधि जित्न सफल भएको थियो ।