दोस्रो अभ्यास खेलमा पनि नेपालको लज्जाजनक हार

काठमाडौं (खेलदैनिक) । एसियाड र साफ च्याम्पियनसिपको तयारीका लागि दश दिने वैदेशिक अभ्यास तथा प्रशिक्षणका क्रममा थाइल्याण्डमा रहेको नेपाली फुटबल टोलीले दोस्रो अभ्यास खेलमा पनि हार बेहोरेको छ ।

शुक्रबार बैंककस्थित थम्मसत युनिभर्सिटी स्टेडियममा सम्पन्न दोस्रो अभ्यास खेलमा नेपाली यु–२३ टोली थाइल्याण्डको यु–२३ टोलीसँग ४–० ले पराजित हुन पुग्यो । यसअघि आफ्नो पहिलो अभ्यास खेलमा पनि नेपाली टोली थाई प्रिमियर लिग क्लब टेरो पुलिस एफसीसँग १–० ले पराजित भएको थियो ।

एसियाड र साफ च्याम्पियनसिपका लागि नेपालको सिनियर र यु–२३ टोली हाल थाइल्याण्ड भ्रमणमा छ । साथै नेपाली टोली त्यतैबाट एसियाडका लागि इण्डोनेसियातर्फ प्रस्थान गर्ने कार्यक्रम छ । एसियाडको पुरुष फुटबलतर्फ नेपाल एसियन पावर हाउस जापान, भियतनाम र पाकिस्तानसँगै समूह डी मा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...