रोहित चन्द थाइल्याण्डमा नेपाली फुटबल टोलीसँगै सामेल नहुने

काठमाडौं (खेलदैनिक( । इण्डोनेसियामा पर्सिजा जकार्ताबाट व्यवसायीक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय फुटबलर रोहित चन्द थाइल्याण्डको दश दिने अभ्यास तथा प्रशिक्षणमा सहभागी नहुने भएका छन् । उनको क्लब पर्सिजा जकार्ता हाल इण्डोनेसियन सुपर लिगमा व्यस्त रहेकोले क्लबले उनलाई तत्काल फुकुवा नगर्ने भएको छ ।

यससँगै रोहित एसियाड खेल्ने नेपाली टोलीसँग सिधै जकार्तामा नै सामेल हुने भएका छन् । हाल दश दिने बैदेशिक अभ्यास तथा प्रशिक्षणका लागि नेपालको सिनियर र यु–२३ फुटबल टोली थाइल्याण्डमा छ । साथै नेपालको यु–२३ टोलीले आज थाइ प्रिमियर लिग क्लब टेरो पुलिस एफसीसँग पहिलो अभ्यास खेल खेल्दैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एसियाडमा तीन सिनियर खेलाडी समावेश गर्न पाउने नियमअनुसार नेपालको यु–२३ टोलीमा रोहितसँगै गोलरक्षक किरण चेम्जोङ र बिशाल राईलाई समावेश गरेको छ । एसियाडको पुरुष फुटबलतर्फ नेपाल, जापान, भियतनाम र पाकिस्तानसँगै समूह डी मा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...