नवयुवालाई लिस्नु कपको उपाधि

तिलोत्तमा (खेलदैनिक) । नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठूटिपिपलले १८ औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा नवयुवाले सियारी गाउँपालिका–२, सियारीलाई २–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भयो ।

कोटिहवास्थित पशुपति माविको खेलमैदानमा सम्पन्न फाइनल भिडन्तमा नवयुवाका लागि जितेश गुरुङ र रन्जित आलेले एक–एक गोल गरे । उता पराजित सियारीका लागि एक मात्र सान्त्वना गोल राज पौडेलले फर्काए ।

उपाधिसँगै नवयुवाले ३ लाख हात पारेको छ भने सियारीले १ लाख ५० हजारमा चित्त बुझाएको छ । व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नवयुवाका जितेश गुरुङ घोषित भए भने उत्कृष्ट गोलरक्षक नवयुवा कै विशाल सुनार घोषित भए । त्यसैगरी उदयीमान खेलाडी आयोजक लिस्नु युवा क्लबका सागर रोका मगर घोषित भए भने उच्च गोलकर्ताको पुरस्कार सियारीका राज पौडेलले हात पारे ।

बिजयी खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पा, केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ बहादुर केसी, आयोजक क्लबका अध्यक्ष तिर्थ मल्ल लगायतका अतिथीहरुले पुरस्कार वितरण गरेका थिए ।

लिस्नु युवा क्लब, तिलोत्तमा—१५ कोटिहवाको आयोजनामा सम्पन्न प्रतियोगितामा रुपन्देही, नवलपरासी, चितवन, दाङका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...