सियारी गाउँपालिका फाइनलमा

तिलोत्तमा (खेलदैनिक) । सियारी गाउँपालिका, सियारी–१ जारी १८ औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा सियारीले पश्चिमाञ्चल प्रहरी तालिम केन्द्र, बुटवललाई पेनाल्टी शुटआउटमा २–१ ले हराउँदै फाइनल स्थान पक्का गर्यो ।

कोटिहवास्थित पशुपति माविको खेलमैदानमा सम्पन्न निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । प्रहरीले दुईपटकको अग्रता जोगाउन सकेन । खेलको २१ औं मिनटमा पुर्ण रानाले प्रहरीका लागि शुरुवाती गोल गरेका थिए । यद्यपि ३८ औं मिनटमा सियारीका लागि फफोनाले बराबरी गोल फर्काएका थिए ।

त्यस्तै खेलको ५३ औं मिनटमा रबिन चौधरीले गोल गर्दै प्रहरीलाई दोस्रोपटक अग्रता दिलाए । तर त्यो अग्रता पनि प्रहरीले धेरैबेर जोगाउन सकेन । उता खेलको ५८ औं मिनटमै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका राज पौडेलले सियारीका लागि दोस्रो बराबरी गोल फर्काएका थिए ।

निर्धारित समयको खेल बराबरीमा सकिएपछि पेनाल्टी शुटआउटमा सियारीले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । शनिबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेका सियारीका गोलरक्षक टेकेन्द्र थापा म्यान अफ द म्याच घोषित भए ।

अब प्रतियोगिताको फाइनल खेल श्रावण २१ गते सोमबार सियारी गाउँपालिका र नवयुवा खेलकुद तथा साँस्कृतिक परिवारबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...