एन्फाले राष्ट्रिय टोलीका खेलाडीहरुमाथि छानबिन गर्ने

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मादक पदार्थ सेवन र डिस्कोमा रमाउने राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुमाथि छानबिन भईरहेको बताएको छ । गोलनेपाल डटकमका अनुसार एन्फाका प्रवक्ता किरन राईले यसबारे आवश्यक छानबिन भईरहेको बताएका छन् ।

प्रवक्ता राईले भनेका छन्, क्याम्पबाट कुन–कुन खेलाडी निस्किएका हुन्, त्यसबारे हामी अहिले नै पुष्टी गर्न सक्दैनौं । हामीहरु एन्फा कम्प्लेक्समा जडान गरिएका सिसिटिभी फुटेजहरु निरिक्षण गरिरहेका छौं । बेलुकासम्म हामीले आफ्नो धारणा सार्वजनिक गर्नेछौं ।


साथै प्रवक्ता राईले दोषी पाइएका खेलाडीहरुलाई आवश्यक कारवाही गर्न आफूलाई पछि नहट्ने स्पष्ट पारेका छन् । स्रोतले गोलनेपाललाई बताएअनुसार क्याम्पबाट बाहिर निस्किने खेलाडीहरुमा बिमल घर्ती मगर, अन्जन बिष्ट, हेमन्त थापा मगर, छिरिङ गुरुङ र बिशाल राई रहेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोली इण्डोनेसियामा हुन गईरहेको एसियन गेम्स (एसियाड) र बंगलादेशले आयोजना गर्न गईरहेको साफ च्याम्पियनसिपको तयारीका लागि हाल बन्द प्रशिक्षणमा व्यस्त छ ।


प्रतिक्रिया दिनुहोस

Loading...