टाईब्रेकरमा फर्साटिकरलाई सफलता

तिलोत्तमा (खेलदैनिक) । फर्साटिकर युवा क्लब, फर्साटिकर रुपन्देहीमा जारी १८ औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कोटिहवास्थित पशुपति मा.वि. को खेलमैदानमा बुधबार सम्पन्न खेलमा फर्साटिकरले भैरव युवा क्लब, सिद्धार्थनगरलाई पेनाल्टी शुटआउटमा ५–३ ले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गर्यो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ फर्साटिकरका लागि रोशन सेनले गोल गरेका थिए भने भैरवका लागि रोशन गुरुङले बराबरी गोल फर्काएका थिए । बुधबारको खेलमा फर्साटिकरका गोलरक्षक बिजय कुमार श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत बिहीबारको खेल पश्चिमाञ्चल प्रहरी तालिम केन्द्र, बुटवल र जनज्योति युवा क्लब, डिङ्गरनगरबीच हुने आयोजकले जनाएको छ ।

लिस्नु युवा क्लब, तिलोत्तमा–१५ कोटिहवाको आयोजनामा जारी प्रतियोगितामा रुपन्देही, नवलपरासी, चितवन, दाङ, स्याङजा र एक भारतीय टोली गरी कुल १६ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि २५–२५ हजार रुपैया प्रदान गरिने आयोजक क्लबका अध्यक्ष तिर्थ मल्लले जानकारी दिए  साथै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको अध्यक्ष मल्लले बताए । प्रतियोगिताको फाइनल खेल यहि श्रावण २१ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...