स्मृतिले जित्यो एन्फा कप छात्र–छात्रा दुवैको उपाधि

बुटवल (खेलदैनिक) । एन्फा कप अन्तरविद्यालय छात्र तथा छात्रा नकआउट फुटबल प्रतियोगिताको दुवैतर्फको उपाधि स्मृति ईङलिस बोर्डिङ स्कुल, जानकीनगरले जित्न सफल भएको छ ।

बुटवलस्थित एन्फा टेक्निकल सेन्टरमा सम्पन्न छात्रतर्फको फाइनल भिडन्तमा स्मृतिले न्यू होराइजन बोर्डिङ स्कुललाई शून्यकाविरुद्ध २ गोलले हरायो । स्मृतिको जितमा निशान न्यौपाने र बिलाज पुनले एक–एक गोल गरे ।

बिजेता बनेको स्मृतिले उपाधिसँगै ३० हजार नगद हात पारेको छ भने उपविजेता बनेको होराईजनले २० हजारमा चित्त बुझाएको छ । प्रतियोगितामा छात्रतर्फ कुल ५२ विद्यालयहरुको सहभागिता रहेको थियो ।

छात्रातर्फ पनि स्मृति च्याम्पियन

त्यसैगरी मंगलबार नै सम्पन्न छात्रातर्फको उपाधि पनि स्मृति इङलिस बोर्डिङ स्कुलले जितेको छ । बुटवलस्थित एन्फा टेक्निकल सेन्टर मै सम्पन्न छात्रातर्फको फाइनलमा स्मृतिले शान्ति नमूना मा.वि., मणिग्रामलाई शून्यकाविरुद्ध ३ गोलले हराउँदै उपाधि जित्न सफल भयो । स्मृतिको जितमा सिमरन रानाले दुई गोल गरीन् भने बबीता कुँवरले एक गोल गरीन् ।

छात्रातर्फ विजेता बनेको स्मृतिले उपाधिसहित नगद १० हजार हात पार्यो भने उपविजेता बनेको शान्ति नमूनाले ५ हजारमा चित्त बुझायो । प्रतियोगितामा छात्रातर्फ रुपन्देहीका कुल ६ टोलीहरुको सहभागिता रहेको थियो ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा छात्र तथा छात्रा दुवैतर्फ गरी कुल ५८ बिद्यालयहरुले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...