रोमाञ्चक जितका साथ नवयुवा क्वाटरफाइनलमा

तिलोत्तमा (खेलदैनिक) । नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल जारी १८ औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कोटिहवास्थित पशुपति मा.वि. को खेलमैदानमा सोमबार भएको रोमाञ्चक खेलमा नवयुवाले नयाँबजार क्लब, दाङलाई २–१ ले हरायो । नवयुवाको जितमा संजय थापा र जितेश गुरुङले एक–एक गोल गरे । उता पराजित दाङका लागि म्यान अफ द म्याच समेत घोषित आशिष जि.सी.ले एक गोल फर्काए तापनि टोलीको हार टार्न सकेनन् ।

प्रतियोगिता अन्तरगत श्रावण ८ गते मंगलबारको खेल सियारी गाउँपालिका, सियारी–१ र फुलबारी गाईज, बुटवलबीच हुने प्रतियोगिताका खेल संयोजक अशोक थापाले जानकारी दिए ।

लिस्नु युवा क्लब, तिलोत्तमा–१५ कोटिहवाको आयोजनामा जारी प्रतियोगितामा रुपन्देही, नवलपरासी, चितवन, दाङ, स्याङजा र एक भारतीय टोली गरी कुल १६ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि २५–२५ हजार रुपैया प्रदान गरिने आयोजक क्लबका अध्यक्ष तिर्थ मल्लले जानकारी दिए साथै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको अध्यक्ष मल्लले बताए । प्रतियोगिताको फाइनल खेल यहि श्रावण २१ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...