टाईब्रेकरमा झरनालाई हराउँदै भैरव क्वाटरफाइनलमा

तिलोत्तमा (खेलदैनिक) । रोमाञ्चक खेलमा भैरव एफसी, नवलपरासीले टाईब्रेकरमा जित हासिल गर्दै जारी १८ औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार कोटिहवास्थित पशुपति मा.वि. को खेलमैदानमा भएको रोमाञ्चक खेलमा भैरवले झरना स्पोर्टस् क्लब, कुञ्जलापुरलाई पेनाल्टी शुटआउटमा ४–१ ले हराउँदै क्वाटरफाइनल स्थान पक्का गर्यो । यसअघि निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयमा पनि दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा भैरवका शंकर राई म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत श्रावण ७ गते सोमबारको खेल दाङ नयाँ बजार क्लब, दाङ र नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलबीच हुने प्रतियोगिताका खेल संयोजक अशोक थापाले जानकारी दिए ।

लिस्नु युवा क्लब, तिलोत्तमा–१५ कोटिहवाको आयोजनामा जारी प्रतियोगितामा रुपन्देही, नवलपरासी, चितवन, दाङ, स्याङजा र एक भारतीय टोली गरी कुल १६ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि २५–२५ हजार रुपैया प्रदान गरिने आयोजक क्लबका अध्यक्ष तिर्थ मल्लले जानकारी दिए साथै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको अध्यक्ष मल्लले बताए । प्रतियोगिताको फाइनल खेल यहि श्रावण २१ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...